Logo

देशभर मनसुनी प्रभाव कायमै : कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौं, ९ भाद्र । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। बागमती, गण्डकी र कोशी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा समेत वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।

यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका केही तथा मधेश र कोशीका तराई भूभागका थोरै स्थानमा समेत मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ।

पहाडी भूभागमा समेत मेघगर्जन–चट्याङसहित मध्यम वर्षा हुनसक्ने तथा कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्