काठमाडौं, १० साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भू–भागमा सरदर स्थानकै आसपासमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली छ। कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
विभागले बागमती, गण्डकी, कोशी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षयको जोखिम रहने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले विभागका पछिल्ला मौसम बुलेटिन नियमित रूपमा पालना गर्न अनुरोध गरेको छ।






