Logo

देशभर मनसुनी प्रभाव, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौं, १७ असार । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर पूर्णतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति पनि देशभर पूर्णतया बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थान, पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार रातिको समयमा कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले पहिरो, भूक्षय, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राखी सतर्क रहन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्