काठमाडौं, २१ असार । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आगामी २४ घण्टासम्म विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको छ। यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहने सम्भावना छ। कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।
हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमतीका तराई क्षेत्र तथा मधेसका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहने तथा अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी र कर्णालीका पहाडी भेग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशीको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने जनाइएको छ।
महाशाखाले विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानजस्ता जोखिमलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।






