Logo

देशभर मौसम बदली, धेरै स्थानमा वर्षाको सम्भावना



काठमाडौं, ३१ वैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसम प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल विभिन्न प्रदेशमा बदलीसँगै वर्षा र हिमपातको सम्भावना देखिएको छ ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै, उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा हल्का वर्षा हुन सक्ने बताइएको छ । रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम बदली रहने तथा केही स्थानमा वर्षा जारी रहने सम्भावना रहेको छ ।

मौसममा आएको परिवर्तनसँगै चट्याङ, वर्षा तथा हिमपातबाट हुन सक्ने असरलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्