काठमाडौं, १७ जेठ । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वदेखि पश्चिमसम्म फैलिएको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली रहेको छ भने तराईका भूभागमा आंशिक बदली देखिएको छ। लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका केही क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। केही स्थानमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ।
आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने पहाडी भूभाग र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहने अनुमान छ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा रातिको समयमा हल्का वर्षा वा हिमपात हुन सक्छ। कोशी र बागमती प्रदेशका उच्च हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
विशेषगरी लुम्बिनी प्रदेशको तराई क्षेत्रमा तीव्र गतिको हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। साथै, मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।








