Logo

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशभर वर्षा र हिमपातको सम्भावना, चट्याङको चेतावनी



काठमाडौं, २९ जेठ । नेपालको उपल्लो वायुमण्डलमा विकसित पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। यसै मौसमी प्रणालीका कारण लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य हिमाली–पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

रातिको समयमा पनि मौसम प्रणाली सक्रिय रहने देखिएको छ। कोशी प्रदेशसहित हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासँगै हिमपात समेत हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम परिवर्तनका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्क रहन जल तथा मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्