Logo

पश्चिमी प्रणालीको प्रभावले मौसम बदली, केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं, ३० वैशाख । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशभरको मौसममा परिवर्तन आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने अन्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । मधेश प्रदेश तथा अन्य पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई जिल्लामा हावाहुरी, असिना र मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्