Logo

पश्चिमी प्रणालीको प्रभाव: आज पनि वर्षा, चट्याङ र हिमपातको सम्भावना



काठमाडौं, ३१ जेठ । देशको मौसममा पश्चिमी न्यून चापीय रेखा (ट्रफ)सँगै स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य पहाडी भूभाग तथा मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। अन्य तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहनेछ।

कोशी प्रदेशका केही स्थान तथा देशका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। यस्तै, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ। कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ। बागमती र गण्डकीका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले महाशाखाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्