
काठमाडौं, २२ जेठ । पश्चिमी न्यून चापीय रेखा (ट्रफ) र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले हिमाली र पहाडी भू–भागमा मौसम बदली रहने तथा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ।
हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेशका साथै अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ।
यता, मधेस र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो लहर चल्ने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा गर्मी बढ्न सक्ने महाशाखाको अनुमान छ।
आज राति पनि कोशी प्रदेशसहित हिमाली क्षेत्रमा सामान्य बदली रहने, पहाडी भू–भाग तथा मधेस प्रदेशमा आंशिक बदली रहने र अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी तीन दिनसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
तातो लहरबाट बच्न दिउँसोको समयमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्न, अनावश्यक रूपमा घाममा बाहिर ननिस्कन, हल्का तथा सुती कपडा लगाउन, बाहिर निस्कँदा टोपी वा छाता प्रयोग गर्न तथा प्रशस्त मात्रामा पानी र झोल पदार्थ सेवन गर्न महाशाखाले सुझाव दिएको छ।








