Logo

पहाड र हिमालमा वर्षा र हिमपात, लुम्बिनीमा ‘भारी’ वर्षाको सतर्कता



काठमाडौं, २० वैशाख । आज दिउँसो देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र हिमाली क्षेत्रमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी र मधेश प्रदेशका केही तराई क्षेत्रसहित देशका पहाडी तथा हिमाली भू–भागका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्नेछ। साथै, बाँकी तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर बदली कायम रहने जनाइएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

विशेषगरी लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मौसमका कारण सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्