Logo

पाँचथरमा पहिरोको कहर : चार परिवार विस्थापित, सडक र पुलमा ठूलो क्षति



काठमाडौं, १० जेठ । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरमा  भौतिक पूर्वाधार र निजी आवासमा भौतिक क्षति पुर्‍याएको छ। पहिरोका कारण याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घर उच्च जोखिममा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोले घर बगाउँदा लम्बाखोलाका मोहनलाल खवास, कबिर खवास तथा कोप्चेका गंगाप्रसाद बेघाको परिवार विस्थापित भएको हो।

विस्थापित परिवार हाल आफन्तको घरमा आश्रय लिएर बसिरहेका छन्। त्यस्तै, भगीमान बेघाको घर पनि पहिरोको उच्च जोखिममा परेपछि उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।

दर्जनौँ घर जोखिममा

कोप्चेटोल, चाम्लिङडाँडा, एकराते टोल तथा मगरडाँडा क्षेत्रका धेरै घर पहिरोको जोखिममा परेका छन्। स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

पुल र सडक बग्दा यातायात अवरुद्ध

बाढीले लामिटार–चाम्लिङडाँडा जोड्ने झोलुङ्गे पुल तथा याङवरक–२ दोभानेस्थित अर्को झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ।

त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत मेवा खोलामा निर्माणाधीन सडक पुल, सडक र डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

तमोर करिडोर सडकअन्तर्गत निर्माणाधीन लिम्बूनी पुलमा समेत बाढीले क्षति पुर्‍याएको छ। पुल निर्माणका लागि राखिएका स्टिल ट्रस्ट, ग्यास सिलिन्डर र अन्य सामग्री बगाएको प्रहरीले जनाएको छ।

जलविद्युत् आयोजनामा पनि क्षति

बाढी र पहिरोले मेवाखोला, इंवाखोला र अरुण काबेली जलविद्युत् आयोजनामा समेत क्षति पुर्‍याएको छ। केही आयोजनाको बाँध क्षेत्र तथा संरचनामा क्षति पुगेको जनाइएको छ।

खेती र खानेपानी योजनामा असर

याङवरक–४ सिगेवामा स्थानीयको अलैँची बगान तथा खेतीयोग्य जमिन बगाएको छ। साथै विभिन्न खानेपानी, सिँचाइ तथा ग्रामीण पूर्वाधार योजनामा समेत बाढीले व्यापक क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्