झापा, २७ वैशाख । झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रका बासिन्दा यतिबेला जंगली हात्तीको आतंकबाट त्रसित बनेका छन्। भारतीय सीमावर्ती जंगलबाट दैनिक राति नेपाल प्रवेश गर्ने हात्तीको बथानले किसानको पाकेको बाली नष्ट गर्न थालेपछि स्थानीयमा डर बढेको हो।
मेचीनगर–१, ४ र ५ क्षेत्रमा पछिल्लो एक सातादेखि ३० देखि ४० वटा हात्तीको समूह राति नेपाल प्रवेश गरी मकै, सुपारीलगायत बालीमा क्षति पुर्याइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन्। भारतको आसाम क्षेत्रबाट आएका करिब सयवटा हात्ती दिनभर सीमापारिको जंगलमा बस्ने र राति समूह छुट्टिएर नेपाली बस्ती तथा खेतबारीमा पस्ने गरेको जनाइएको छ।
हात्तीको प्रवेश रोक्न र स्थानीयको सुरक्षा सुनिश्चित गर्न हालै सर्वपक्षीय बैठकसमेत बसेको थियो। बैठकले भारतीय वन अधिकारीसँग समन्वय गर्ने, साँझपछि सर्वसाधारणलाई सीमाक्षेत्रमा जान रोक लगाउने, मौसमी तारबार लगाउने तथा ट्र्याक्टर परिचालन गरेर हात्ती खेदाउने निर्णय गरेको छ।
यसका साथै नगरपालिकाले ट्र्याक्टर सञ्चालनका लागि इन्धन उपलब्ध गराउने र रातिको समयमा सतर्कता अपनाउन माइकिङ गर्ने व्यवस्था मिलाइएको छ। सीमाक्षेत्रमा जडान गरिएको १८ किलोमिटर लामो सौर्य तारबार मर्मतका लागि पनि प्रक्रिया अघि बढाइएको जनाइएको छ।
स्थानीयका अनुसार यस वर्ष हात्तीले पाक्न लागेको मकैबाली सखाप पारेको छ भने सुपारीका बोटसमेत भाँचिदिएको छ। केही महिनाभित्रै हात्तीको आक्रमणबाट तीन जना घाइते भएका छन् भने १५ वटा घरमा क्षति पुगेको बताइएको छ।
हात्तीको बढ्दो प्रवेश रोक्न सुरक्षाकर्मी, वन कर्मचारी तथा रेपिड रेस्पोन्स टोली संयुक्त रूपमा परिचालन गरिएको वडा कार्यालयले जनाएको छ।





