Logo

मौसमको दोहोरो प्रभाव: एकातिर वर्षा, अर्कोतिर तातो लहरको जोखिम



काठमाडौं, ८ असार । देशका विभिन्न क्षेत्रमा मौसमको मिश्रित प्रभाव देखिएको छ। हाल कोशी प्रदेशमा मनसुनी वायु सक्रिय रहेकाले त्यहाँ वर्षाको सम्भावना बढेको छ भने अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशसहित देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा पनि वर्षा हुने अनुमान गरिएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव जारी रहने सम्भावना छ। बागमती र गण्डकीका केही तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुन सक्ने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा बदली रही मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेश र कोशी तराईका केही स्थानमा समेत चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्