Logo

लुम्बिनी र सुदूरपश्चिममा तातो लहरको चेतावनी



काठमाडौं, ९ जेठ । जल तथा मौसम विज्ञान विभाग ले तातो दिन तथा तातो लहर (लु) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार आगामी तीन दिनसम्म लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना रहेको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि बढी हुन सक्ने चेतावनी दिइएको छ ।

मौसमविद् सञ्जिव अधिकारी का अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम तातो लहर तथा पहाडी क्षेत्रमा तातो दिनको प्रभाव देखिन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो ।

प्रभावित जिल्लाहरू

तातो लहरको बढी जोखिम रहेका जिल्लामा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् ।

त्यस्तै बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तुमा पनि सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

स्वास्थ्यमा पर्न सक्ने असर

तातो हावा तथा लुका कारण थकान, कमजोरी, अत्यधिक तिर्खा, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता जस्ता समस्या हुन सक्ने विभागले जनाएको छ ।

अपनाउनुपर्ने सावधानी

दिउँसोको अत्यधिक गर्मीमा सकेसम्म घरभित्र वा चिसो स्थानमा बस्ने
चर्को घाममा बाहिर ननिस्किने
हल्का र सुतीका कपडा लगाउने
बाहिर निस्कँदा टाउको छोप्ने वा टोपी प्रयोग गर्ने
प्रशस्त पानी, जुस तथा झोल पदार्थ पिउने
स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिने

प्रतिक्रिया दिनुहोस्