Logo

वर्षासँगै बढ्यो पहिरोको जोखिम, देशका विभिन्न सडकखण्ड अवरुद्ध



काठमाडौं, २४ साउन । लगातारको वर्षा, पहिरो र सडक कटानका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ । केही प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध हुँदा कतिपय मार्गमा निश्चित समयका लागि सवारी सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सिन्धुपाल्चोक, इलाम, रसुवा, तेह्रथुम र रुकुम पश्चिमका विभिन्न सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, वर्षाका कारण कान्ति लोकपथमा पनि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको प्रहरीले जनाएको छ ।

इलामको राजदुवालीमा मेची राजमार्ग हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ । सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी, लिपिङ र डुम्रे क्षेत्रमा पहिरो तथा सडक भासिएपछि अरनिको राजमार्गसमेत अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–स्थित खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डमा यातायात प्रभावित भएको छ । त्यसैगरी, रुकुम पश्चिमको रिजेगार्ड खोलामा भेरी करिडोर र तेह्रथुमको काडे नजिक मध्यपहाडी लोकमार्ग पहिरोका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षासँगै बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले आवश्यकताबिना यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्