Logo

विदेश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा झापाका दुईसहित तीन पक्राउ



काठमाडौं, १० भाद्र । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाका दुई र सिन्धुलीकी एक महिला रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार चेक रिपब्लिक पठाइदिने भन्दै ५ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा झापाको कमल गाउँपालिका–५ की २९ वर्षीया सुष्मा भण्डारी पक्राउ परेकी छन्।

त्यस्तै, लिथुनियामा रोजगारीका लागि पठाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा कमलामाई, सिन्धुलीकी करिना देवकोटा पक्राउ परेकी छन्। फिनल्यान्ड पठाइदिने भन्दै १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा झापा दमकका साजन खनाल पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार उनीहरूले आकर्षक तलबसहित विभिन्न देशमा रोजगारी लगाइदिने प्रलोभन देखाएर पीडितहरूबाट रकम लिएका थिए। लामो समयसम्म झुक्यानमा राखेपछि विदेश नपठाई सम्पर्कविहीन बनेको आरोप उनीहरूमाथि छ।

तीनैजनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्