Logo

साउदीबाट ३३ नेपाली कैदीलाई आममाफी, कानुनी प्रक्रिया पूरा गरी स्वदेश फर्काइने



काठमाडौं, १६ असार । साउदी अरब सरकारले विभिन्न कारागारमा सजाय भोगिरहेका ३३ जना नेपाली नागरिकलाई शाही माफी दिएको छ। रमजान महिनाको अवसरमा प्रदान गरिएको उक्त आममाफीपछि उनीहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल फर्कने भएका छन्।

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शाही माफी प्रदान गरेकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

मन्त्रालयका अनुसार साउदी सरकारको यो निर्णय नेपाल–साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रता, सद्भाव र घनिष्ठ द्विपक्षीय सम्बन्धको प्रतीक हो।

रियादस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले ३३ जना नेपाली कैदीलाई शाही माफी दिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार माफी पाएका नेपाली नागरिकले साउदी अरबको आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि स्वदेश फर्काइनेछ।

प्रतिक्रिया दिनुहोस्