काठमाडौं, २९ असार । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन फाइनल प्रवेशका लागि भिड्दैछन्। विश्व फुटबलका दुई परम्परागत प्रतिद्वन्द्वीबीच हुने यो खेललाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक र प्रतिक्षित भिडन्तका रूपमा हेरिएको छ।
टेक्ससको अर्लिङटनस्थित ७० हजार ६४९ दर्शक क्षमता रहेको ड्यालस स्टेडियममा हुने खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे र स्पेनका युवा स्टार लामिन यामालमाथि सबैको ध्यान केन्द्रित हुनेछ। क्लब फुटबलमा ‘एल क्लासिको’ प्रतिद्वन्द्वी रहेका यी दुई खेलाडी अब विश्वकपको सेमिफाइनलमा एकअर्काविरुद्ध उत्रिन लागेका हुन्।
तथ्याङ्कीय विश्लेषण गर्ने संस्था ‘अप्टा’को सुपर कम्प्युटरले फ्रान्सलाई जितको बलियो दाबेदार मानेको छ। प्रक्षेपणअनुसार निर्धारित समयमा फ्रान्सको जित्ने सम्भावना ४२.१ प्रतिशत रहेको छ भने स्पेनको सम्भावना ३१.८ प्रतिशत छ। खेल अतिरिक्त समयमा पुग्ने सम्भावना २६.१ प्रतिशत रहेको अनुमान गरिएको छ।
यद्यपि, आपसी भेटको इतिहासमा भने स्पेन केही अगाडि देखिन्छ। हालसम्म दुई टोलीबीच भएका ३८ खेलमध्ये स्पेनले १८ र फ्रान्सले १३ खेल जितेका छन् भने सात खेल बराबरीमा टुंगिएका छन्। पछिल्ला दुई भेटमा पनि स्पेनले लगातार सफलता हात पारेको छ। सन् २०२५ को युइएफए नेसन्स लिग सेमिफाइनलमा स्पेन ५–४ ले विजयी भएको थियो भने युरो २०२४ को सेमिफाइनलमा पनि स्पेनले २–१ को जित निकालेको थियो।
विश्वकपको इतिहासमा भने फ्रान्सको पलडा भारी छ। सन् २००६ को अन्तिम १६ मा जिनेदिन जिदानको कप्तानीमा फ्रान्सले स्पेनलाई ३–१ ले पराजित गर्दै अर्को चरणमा स्थान बनाएको थियो।
जारी विश्वकपमा फ्रान्सका लागि एम्बाप्पे उत्कृष्ट लयमा छन्। उनले ८ गोल र ३ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता बनाएका छन्। ओस्मान डेम्बेले र माइकल ओलिसेको साथले फ्रान्सको आक्रमण थप प्रभावशाली बनेको छ।
स्पेनको बलियो पक्ष भने रक्षापङ्क्ति हो। टोलीले पाँच खेलमा मात्र एक गोल बेहोरेको छ। आक्रमणमा मिकेल ओयार्जाबालले चार गोल गरेका छन् भने चोटपछि फर्किएका लामिन यामालले निर्णायक प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
फ्रान्स दुई पटक (१९९८ र २०१८) तथा स्पेन एक पटक (२०१०) विश्वकप च्याम्पियन बनिसकेका छन्। त्यसैले ड्यालसमा हुने यो भिडन्त केवल फाइनल प्रवेशको लडाइँ मात्र नभई युरोपेली फुटबलका दुई महारथीबीचको प्रतिष्ठाको युद्धसमेत हुनेछ।






