काठमाडौं, २८ जेठ । अफ्रिकी भूमिमा आयोजित सन् २०१० को फिफा विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिका र मेक्सिकोले १–१ को बराबरी खेलेका थिए। ठीक १६ वर्षपछि यी दुई टोली फेरि विश्वकपको उद्घाटन खेलमै आमनेसामने हुन लागेका छन्।
फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित संस्करण आज मध्यराति १२ः४५ बजे मेक्सिको सिटीस्थित प्रतिष्ठित एस्टाडियो अज्टेका रंगशालाबाट सुरु हुँदैछ। सह–आयोजक मेक्सिकोले उद्घाटन खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ। करिब ८० हजार दर्शकको उपस्थितिमा हुने यो खेललाई विश्व फुटबल समर्थकहरूले विशेष चासोका साथ हेरेका छन्।
यस संस्करणको विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता हो। ४८ टोलीको सहभागितासहित ३९ दिनसम्म चल्ने प्रतियोगितामा कुल १०४ खेल हुनेछन्, जुन कतार विश्वकप २०२२ भन्दा ४० खेल बढी हो। साथै, पहिलोपटक संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा विश्वकप आयोजना गरिरहेका छन्।
खेलअघि हुने उद्घाटन समारोह पनि आकर्षणको केन्द्र बन्नेछ। चार पटक ग्रामी अवार्ड विजेता गायिका शाकिरासहित कोलम्बियाली गायक जे बाल्भिन र दक्षिण अफ्रिकी कलाकार टाइलाले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।
घरेलु मैदान र समर्थकको साथ पाएको मेक्सिको जितसहित विश्वकप यात्रा सुरु गर्ने लक्ष्यमा छ। ‘एल ट्री’ उपनामले परिचित मेक्सिको विश्वकपमा १७औँ पटक सहभागी हुँदैछ। पछिल्ला आठ खेलमा अपराजित रहेको टोली प्रशिक्षक हाभिएर अगिरेको नेतृत्वमा उच्च आत्मविश्वासका साथ मैदान उत्रनेछ।
यता, फिफा वरीयतामा मेक्सिकोभन्दा निकै तल रहे पनि दक्षिण अफ्रिका आफूलाई कमजोर टोली मान्न तयार छैन। १६ वर्षपछि विश्वकपमा फर्किएको ‘बाफाना बाफाना’ले उद्घाटन खेलमै उलटफेर गर्दै सनसनी मच्चाउने लक्ष्य राखेको छ।
समूह ‘ए’ मा रहेका मेक्सिको, दक्षिण अफ्रिका, चेक रिपब्लिक र दक्षिण कोरियामध्ये शीर्ष दुई टोली तथा उत्कृष्ट प्रदर्शन गर्ने तेस्रो स्थानका टोलीहरू नकआउट चरणमा पुग्नेछन्। यसपटक पहिलोपटक राउन्ड अफ ३२ समावेश गरिएको छ।
हेड–टु–हेड तथ्यांकमा मेक्सिको केही अगाडि देखिन्छ। दुवै टोलीबीच भएका चार भेटमध्ये मेक्सिकोले दुई खेल जितेको छ भने दक्षिण अफ्रिकाले एक खेल आफ्नो पक्षमा पारेको छ। एक खेल बराबरीमा सकिएको थियो।
विश्व फुटबलको महाकुम्भको सुरुआतसँगै आजको उद्घाटन खेलले विश्वकप २०२६ को रोमाञ्चक यात्राको ढोका खोल्नेछ।








