Logo

१० वर्षपछि सोनिया दर्जीको परिवारसँग पुनर्मिलन



झापा, ३० जेठ । बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया बालगृहमा संरक्षणमा रहेकी सोनिया दर्जीको १० वर्षपछि परिवारसँग पुनर्मिलन गरिएको छ।

बुबाआमासँग आश्रित अवस्थामा कारागारमा रहेका बेला ४ वर्षको उमेरमा सोनियालाई झापा कारागारको सिफारिसमा २०७३ साल जेठ १६ गते बन्दी सहायता नेपालको संरक्षणमा अर्जुनधारा नगरपालिका–११ स्थित मनमाया आमा बालगृहमा ल्याइएको थियो।

त्यसपछि उनी संस्थाद्वारा सञ्चालित जुनकीरी सार्वजनिक आधारभूत विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययन गर्दै कक्षा ६ देखि महारानीगञ्ज मावि अर्जुनधारा–११ मा अध्ययन गरिन्। शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उनले B+ सहित सफलता हासिल गरेकी छिन्।

पढाइ र नृत्यमा रुचि राख्ने सोनिया मिलनसार तथा अनुशासित विद्यार्थीका रूपमा परिचित थिइन्। उनले भविष्यमा शिक्षक बनेर शिक्षा क्षेत्रमा योगदान दिने उद्देश्यले शिक्षा शास्त्र अध्ययनका लागि धुलाबारी माध्यमिक विद्यालय, मेचिनगर जाने योजना बनाएकी छन्।

उनको अध्ययनका लागि बन्दी सहायता नेपालले केही सहयोग गर्ने र बाँकी व्यवस्थापन परिवारले गर्ने बताइएको छ। परिवारका अनुसार आर्थिक चुनौतीका बीच जिम्मेवारी थपिएको छ।

संस्थाकी संस्थापक इन्दिरा राना मगरले कारागारदेखि घरसम्म निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै परिवारले आभार व्यक्त गरेको छ। संस्थाका जगत बहादुर मगर, रन्जित परियारलगायत पदाधिकारी तथा कर्मचारीप्रति पनि कृतज्ञता व्यक्त गरिएको छ।

कार्यक्रममा पूर्वाञ्चल शाखा प्रमुख जगत बहादुर मगरले रु ११ हजार ५०० प्रोत्साहन सहयोग प्रदान गरेका थिए। प्रमुख अतिथि अर्जुनधारा–११ की जनप्रतिनिधि सुसिला गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अबिचन्द्र बास्कोटा, कोषाध्यक्ष अम्बिका गुरुङ तथा शिक्षकहरू गीता देवी खरेल, अनुजा क्षेत्री र निर्मला लुइँटेलले सोनियालाई दोसल्ला ओढाएर सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।

पारिवारिक पुनर्मिलन हस्तान्तरण सम्झौतामा संस्थाको तर्फबाट जगत बहादुर मगर र परिवारको तर्फबाट बुबा लालबहादुर दर्जीले हस्ताक्षर गर्दै छोरीलाई औपचारिक रूपमा जिम्मा लिएका थिए। विद्यालय प्रशासनले उनको आगामी अध्ययनका लागि आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्