Logo

पूर्व राजा ज्ञानेन्द्रको सेल्फी भ्रमणको उद्देश्य के हो ?



पूर्व राजा ज्ञानेन्द्र झापाको दमकलाई मुकाम बनाएर गएको माघदेखि पूर्वका मठ मन्दिर दर्शनमा सक्रिय छन् । ज्ञानेन्द्रलाई हेर्न आउने, उनीप्रति श्रद्धा व्यक्त गर्ने, रमाइलोका लागि आउने पनि छन् । पूर्व राजा ज्ञानेन्द्रको भम्रणमा राजा कस्ता रहेछन् एक पटक हेरौँ न भन्ने लगायतका अनेक उद्देश्यले उनका अघिपछि भिड लाग्ने गरेको छ ।

पूर्व राजा ज्ञानेन्द्र नेता जस्तै सजिला भएका छन् । पत्रकारले सहजै कुरा गर्न र फोटो खिच्न सक्छन् । सर्वसाधारणले फोटो खिच्ने मात्र होइन, सेल्फी हान्न पनि भ्याएका छन् । उनले सामान्य नागरिकसँग पोज पोजका सेल्फी दिएका छन् । एक प्रकारले पूर्व राजा सजिलै भेट्न र बोल्न पाइने आम नागरिक भएका छन् । ज्ञानेन्द्र पूर्व राजा भए पनि सर्वसाधारणले अझै पनि राजाकै रुपमा बुझ्ने मनोविज्ञान कायम छ ।

पूर्व राजाको पूर्वी नेपालको धार्मिक भ्रमण सामान्य मात्र होइन । उनको भ्रमणका पछि राजनीतिक उद्देश्य त लुकेकै हुन्छ । तर, उनी कुन रणनीति लिएर धार्मिक भ्रमणमा निस्कन्छन् भन्ने मुख्य कुरा हो ।

पूर्वी नेपालको भ्रमणमा रहेका बेला आमा बिरामी भएका समय उनी काठमाडौँ गए । त्यस पछि उनले मध्य तराईको भ्रमण गरे । उनको मध्य तराई भ्रमणले पनि राम्रै चर्चा पाएको थियो । राजा आऊ देश बचाउ, श्री ५ महाराजधिराज जस्ता परम्परागत नारा त्यहाँ पनि गुञ्जिए ।

तराईमा ज्ञानेन्द्रप्रति आम मानिसको भिड र सक्रियता राम्रै थियो । मिडियाले पनि राम्रो कभरेज गरेका थिए । यसबाट ज्ञानेन्द्र पुलकित नहुने कुरै भएन । तर, भ्रमणको अन्त्यतिर जब उनले यो भूमी मधेस होइन, तराई हो भने, उनका सबै सकारात्मक सक्रियता बालुमा पानी जस्तै भयो ।
मधेस शब्द अब कसैले स्वीकार गरे पनि नगरे पनि, त्यो संविधानमा प्रयोग भएको शब्द हो । मधेसका नाममा धेरैले सहादत र बलिदान दिएका छन् । विभेद अन्त्यका लागि मधेस शब्द आन्दोलको नाम हो । उनले यो भूमी मधेस नभएर तराई हो भनेर मधेसी समुदायको अपमान गरेको धेरैको टिप्पणी थियो । पूर्वराजाका शुभचिन्तकले पनि राजाले यो नबोलेको भए राम्रो हुन्थ्यो भन्ने प्रतिक्रिया दिए ।

मध्य तराईको भ्रमण पछि ज्ञानेन्द्र पुनः आफ्नोसमेत लगानी रहेको दमकको गुडरिक चिया बगानलाई मुकाम बनाएर पूर्वी नेपालको भ्रमण गरिरहेका छन् । उनको भ्रमणमा सर्वसाधारणदेखि पार्टीका कार्यकर्ताको भिड लाग्ने गरेको छ ।

भ्रमणमा राप्रपा लगायतका पंचायती पृष्ठमूमी भएका राजावादीको भिड लाग्नु स्वभाविक हो । तर, राजनीतिक पार्टीका स्थानीय नेता कार्यकर्ता स्वागतमा बस्नु अनौठो मान्नु पर्दछ । मूलतः नेपाली काँग्रेससँग निकट स्थानीय नेता कार्यकर्ताको पूर्व राजा ज्ञानेन्द्रको मठ मन्दिर दर्शनमा राम्रै उपस्थिति देखिएको छ ।

ज्ञोनेन्द्रको धार्मिक यात्रामा काँग्रेसी कार्यकर्ताको ध्यानकर्षण हुनुमा दुई कारण हुन सक्छ । एक, काँग्रेस भित्र लामो समयदेखि कट्टर धार्मिक सोँच भएका नेता कार्यकर्ता हुनु । अर्को पार्टीका महामन्त्री शशांक कोइराला नै हिन्दू राज्य हुनु पर्ने माग गर्दै हिँडे पछि स्थानीय कार्यकर्तालाई ज्ञानेन्द्रका कार्यक्रममा उपस्थिति जनाउन सहज भएको हुन सक्छ ।

पूर्व राजाको कार्यक्रममा काँग्रेसका मात्र होइन, नेकपा निकटका कार्यकर्ताको पनि उपस्थिति देखिन्छ । कम्युनिष्ट पार्टीको आदर्श, मूल्य, मान्यता र माक्र्सवादी दर्शन भन्दा हिन्दू दर्शनबाट प्रभावित कार्यकर्ताको उपस्थिति देखिन्थ्यो ।

पूर्व राजा कस्ता रहेछन् भन्ने सोँचले हेर्न जानेको राम्रै उपस्थिति देखिएको छ । परम्परा र पुरातन सोँच भएका मात्र होइन, युवा पुस्ताको पनि ज्ञानेन्द्रका कार्यक्रममा बाक्लै उपस्थिति हुने गरेको छ ।

ज्ञानेन्द्रको देश दौडाहाको औचित्य धार्मिक भनिए पनि रानीतिक उद्देश्य पनि लुकेको हुन सक्ने अनुमान धेरै गरेका छन् । उनले कुन ग्राउण्डका लागि धार्मिक भ्रमण गरिरहेका छन् भन्ने अझै प्रस्ट भएको छैन ।

झापाको बुधबारेमा सर्वसाधारणसँग पूर्वराजाको सेल्फी । फोटोः उमाकान्त खनाल

पूर्व राजाले संविधान र कानुन अनुसार नागरिक सरह भ्रमण गर्नुलाई स्वभाविक मान्नु पर्ने हुन्छ । उनले भ्रमणमा खासै राजनीतिक प्रतिक्रिया र टिप्पणी गर्ने गरेका छैनन् । उनले राजनीतिक टिप्पणी नगरेसम्म सरकारले पनि राजनीतिक प्रतिक्रिया दिइहालेको छैन ।

तर, राजनीतिक बजारमा भने उनको धार्मिक भ्रमण भनिए पनि राजनीतिक उद्देश्य रहेको टिप्पणी गर्ने प्रसस्त छन् । अन्य समयको धार्मिक भ्रमण भन्दा यस पटकको भ्रमण अलिक लामो र भिन्न भएको दावी गरिएको छ । कतिपय राजावादी अमेरिकाको सम्पर्कका आधारमा उनले सक्रियता बढाएको बताउँछन् ।

अमेरिका नेपाललाई जसरी भए पनि चीन घेर्ने इण्डो प्यासिफिक रणनीतिमा सहमति गराउने पक्षमा छ । सीके राउतसँग सरकारको सहमतिसँगै ज्ञानेन्द्रको तराई भ्रमणलाई सामान्य धार्मिक भ्रमण मात्र मान्न सकिन्न । इण्डो प्यासिफिकमा सहमति गर्ने शर्तमा सीके राउतको अवतरण भएको घटनाक्रमले पुस्टी गरेको छ ।

ओली सरकारले सीके राउतको अवतरण पछि इण्डो प्यासिफिकमा सहमति नगरे पूर्व राजा ज्ञोनन्द्रको कार्ड खेल्न सक्ने अवस्था छ । नेपाल सरकारलाई दवाममा राखेर इण्डो प्यासिफिकमा सहमति गराउने अमेरिकी रणनीति हो । यसमा ज्ञानेन्द्र कार्डको रुपमा प्रयोग हुन सक्छन् । उनको पछिल्लो सक्रियताले कुनै न कुनै राजनीतिक राणनीतिलाई शंकेत गर्दछ ।

ज्ञोनेन्द्रले राजसंस्था पुनःस्थापनाका लागि भारतको त्यसमा पनि मोदीको ठूलो विश्वास लिएका थिए । संविधानको घोषणा पछि नेपालमा मोदी धेरै नै बद्नाम भए । र, मोदीबाट कुनै जोडबल नचल्ने भएपछि पछिल्लो समय ज्ञानेन्द्र अमेकिरी कार्डको रुपमा प्रयोग हुन तयार भएका हु्न् ।

ज्ञानेन्द्र र उनका राणनीतिकारले राम्ररी बुझेका छन् कि धार्मिक आधार विना राजसंस्था पुनःस्थापना सम्भव छैन । त्यहि भएर उनी देश भरका मठ मन्दिर चहार्दै हिँडेका छन् । उनले जतिनै प्रयास गरे पनि तत्काल कुनै धार्मिक विप्लव हुने सम्भवना छैन ।

दुई तिहाईको स्थिर सरकार भएकाले तत्काल धार्मिक वा राजनीतिक उथलपुथल हुन सक्ने वस्था छैन । र, ज्ञानेन्द्रको रणनीति अनुसार तत्काल उनको उद्देश्य पूरा हुन सक्ने सम्भावना छैन । तर, धार्मिक माहोल आफ्नो पक्षमा पार्ने र कुनै धार्मिक द्न्द्वको परिस्थिति निर्माण गर्ने मनसाय भ्रमणको हुनसक्छ । हुन त मठ मन्दिर डुल्दैमा, सर्वसाधारणसँग सेल्फी लिँदैमा उनको रणनीति तत्काल पूरा हुने सम्भावना छैन ।

नेपालमा राजसंस्था पुनःस्थापनको सम्भवना नभए पनि हिन्दू धर्म र राजसंस्थाको विषयमा देशमा द्न्द्वको बिउ रोपिन सक्ने सम्भावना भने कायम छ । ज्ञानेन्द्रको भ्रमणमा राजनीतिक उद्देश्य भए पनि आम मानिसले धार्मिक रुपमा मात्र बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्