Logo

सरकार र ठेकेदारको तालः शनिश्चरे-खुदुनाबारी सडक निर्माण बेहाल



झापा, १७ मंसिर । झापाको बिर्तामोड हुँदै इलाम जोडिने शनिश्चरे–खुदुनाबारी सडकखण्ड समयमा निर्माण नहुँदास्थानीयले सास्ती बेहोर्नु परेको छ । विगत दुई वर्षदेखि उड्ने धुलो र पानी पर्दा हुने हिलोले स्थानीय आजित छन् ।

प्रदेश सरकार मातहतकोशनिश्चरे–खुदुनाबारीको७.२किमी सडक निर्माणको ठेक्काद कञ्चनजङ्घा-शेर्पा–कञ्चनजङ्घा जेभीले पाएको हो । पूर्वाधार विकास कार्यालय (तत्कालीन जिल्ला प्रविधिक कार्यालय) झापाले २०७५ साल असार २७ गते कञ्चनजङ्घा जेभीसँग सडकनिर्माणको सम्झौता गरेको थियो । सम्झौताअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) सहित ८ करोड ९८ लाख १९ हजारमा २४ महिनामा निर्माण सम्पन्न गर्नेगरीठेक्का लागेको सडक समयअवधि सकिँदा पनि ४५ प्रतिशत मात्र काम भएको छ ।

प्रदेश सरकारको प्राथमिकतामा रहेको यो सडक झापा र इलाम जोड्ने सबैभन्दा छोटो मार्ग हो ।झापाको पुरानो बजार शनिश्चरे–खुदुनाबारीबाट यो सडक इलामको दानाबारी, चिसापनी, मङ्गलबारे हुँदैइलाम सदरमुकामसम्म पुग्दछ । सडकले मङ्गलबारे हुँदै मेची राजमार्ग र कनकाई नदी किनारैकिनार हुँदै सदरमुकाम इलाम जोड्ने गर्दछ । यो प्रदेश सरकारको महत्वको सडक हो । तर, सरकारले समयमा बजेट नपठाउँदा सडक निर्माणमा समस्या आएको निर्माण कम्पनीको आरोप छ । प्रदेश सरकारले भने निर्धारितसमयमा काम नभएका कारण भुक्तानी दिन कठिन भएको बताएको छ ।

प्रदेश नं. १ भौतिक विकास तथा पूर्वाधार मन्त्रालयका अनुसार संघीय सरकारको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत रहेको सडक आयोजना संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

प्रदेश नं. १ भौतिक विकास तथा पूर्वाधार मन्त्रालयका सूचना अधिकारी ओमप्रकाश शाहले संघीय सरकारको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत निर्माण सुरु भएको सडककोनिर्माणका लागि गत आर्थिक वर्षसम्म बजेट आएको तर यो आर्थिक वर्षमा कार्यक्रम नै नभएका कारण बजेट विनियोजनमा समस्या भएको बताए । यद्यपिबजेटका कारण सडक निर्माण अवरोध नहुने उनले बताए ।

सम्झौताअनुसार २०७७ असार मसान्तसम्ममा कार्य सम्पन्न हुनु पर्ने हो । तर, तोकिएको समयमा काम सम्पन्न हुन सकेन । विकास निर्माणका कामलाई सरकारले आगामी मंसिरसम्ममा सम्पन गर्ने गरी समयावधि थप गरेको भए पनि सो समयमा निर्माण सम्पन्नहुनेमा स्थानीय जनप्रतिनिधि र उपभोक्ताले शंका व्यक्त गरेका छन् ।
पूर्वाधार विकास कार्यालय झापाका प्रमुख इन्जिनियर रमेशकुमार श्रेष्ठले ४५ प्रतिशत काम सम्पन्न भइसकेको बताए पनि स्थानीय स्वीकार्ने पक्षमा छैनन् ।

सडक निर्माण क्षेत्रका प्रदेश सभा सदस्य बिर्ख प्रधानले चालु आर्थिक वर्षमा जसरी पनि काम सक्न निर्माण कम्पनीलाई दबाब दिएको बताए । उनले कम्पनीले कल्भर्ट, ढल र अधिकांश स्थानमा सब बेससम्मको काम सम्पन्न भएपनि कालोपत्र गर्ने काम भने बाँकी रहेको बताए ।

स्थानीय सरकारलाई टाउको दुखाई
प्रदेश सरकारले सडक निर्माण गर्ने भएपनि समयमा नबन्दा स्थानीय सरकारको टाउको दुःखाईको विषयभएको छ । प्रदेश सरकारले बजेट नपठाउने र निर्माण कम्पनीले समयमा काम नगर्ने कुराको पीडा स्थानीयले बेहोर्नु परेको छ । स्थानीय उपभोक्ताले समयमै सडक निर्माणका लागि दबाब दिन पटक–पटक सडक बन्द लगायतका आन्दोलन गरेर प्रदेश सरकार, निर्माण कम्पनी र नगरपालिकालाई दबाब दिँदै आएका छन् । यद्यपि सडक समयमा निर्माण हुन सकेको छैन ।

समयमा सडक निर्माण नहुँदा शनिश्चरे खुदुनाबारी सडक स्थानीय अर्जुनधारा नगर सरकारको टाउको दुखाइको विषय भएको छ। धुलो उड्दा पानी हाल्नु पर्ने र पानी परेर हिलो हुँदा बालुवा गिट्टी हाल्ने कामले नगरपालिकाआजित भएको छ । ठेक्का एउटाले लिने, समयमा काम नगर्ने तर त्यसको मार स्थानीय जनप्रतिनिधिले व्यहोर्नु पर्ने भएको छ । डुङ्डुङ्ती उड्ने धुलो मार्न दिनहुँ पानी हाले पनि खासै प्रभाव परेको छैन । दिनमा एक पटक हालेको पानीले खासै धुलो नमार्ने स्थानीयको भनाइ छ ।

अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले समयमा सडक निर्माण नहुँदा नागरिकलाई सास्ती भएको बताए । उनले सडकका कारण नागरिकको स्वास्थ्यमा गम्भीर समस्या आएकोसमेत बताए । उनले भने, ‘नागरिकले समयमा सडक निर्माण गराउन पटक–पटक आन्दोलन गरेका छन्, थपिएको समयमा अबपनि सडक नबने नागरिकको आक्रोश थाम्न जनप्रतिनिधिलाई धौ–धौ हुुनेछ ।’

वडा नम्बर ७ का अध्यक्ष नवराम ढुङ्गानाले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न पटक पटक दबाब दिएको बताए । निर्माण कम्पनीले समयमा काम नगर्दा नागरिकका अघि लज्जित हुनु परेको उनको भनाई छ ।

निर्माण कम्पनीका कारण पछिल्लो समय जनप्रतिनिधि नागरिकबाट आलोचित हुन परेको अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधिको भोगाइ रहेको छ । सडक निर्माणमा ढिलाई हुँदा जनप्रतिनिधि र निर्माण कम्पनीको मिलेमतोमा सडक निर्माणमा ढिलाई भएको आरोप समेत यहाँका जनप्रतिनिधिले खेपिरहेका छन् ।

ठेकदारलाई मस्ती, उपभोक्तालाई सास्ती
समयमा निर्माण नहुँदा सडकमा खाल्डाखुल्डी छन् । ‘पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुन्छ, सडकमा पैदल यात्रा गर्न सकिँदैन’, खुदुनाबारीका अर्जुन गजमेरले भने, ‘मान्छे मात्र होइन, सडक किनारका घर पनि घुलोले सेताम्य हुन्छ, सडकका कारण कहिलेसम्म यो दुर्गती भोग्ने ?’

अर्जुनधारा नगरपलिकाको शनिश्चरे बजारदेखि खुदुनाबारीसम्मको मुख्य सडकमा यात्रा गर्नु यातना पाउनु सरह भएको छ । सम्झौताअनुसार गत असारमा निर्माण भइसक्नु पर्ने सडक नबन्दा स्थानीयले हैरानी भोग्नु परेको हो ।सडकमा हिँड्ने यात्रुले मात्र होइन, सडक खराब हुँदा सवारीसाधन थोत्रा भएको अटो चालक हरि बस्नेतले बताए । उनले दुःख पोखे, ‘कमाए जति मर्मतमै सकिन्छ ।’

सडक खराब हुँदा दुर्घटनाको जोखिम पनि त्यत्तिकै बढेको छ । सडक निर्माणमा स्थानीय सरकारले पहल गर्नुपर्ने शनिश्चरे खुदुनावारी सडकका अटो चालक प्रकाश थापाको भनाई छ । उनले भने, ‘सडकमा खाल्डैखाल्डाहुँदा सवारीसाधन चलाउनै मुस्किल छ ।’

यी त प्रतिनिधिमुलक पात्र मात्रै हुन्,यहाँ सवारी चलाउने सबै सवारी चालक र सवारी साधनको यही अवस्था छ । सडकमा जताततै निर्माण सामग्री थुपारिँदा यात्रा गर्न झनै मुस्किल हुने अर्जनधारा नगरपालिका वडा नं. ४ की प्रमिला कार्कीले बताइन् ।हिँड्नै नसक्ने भएपछि वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता आएको खुदुनाबारीका खगेन्द्रभट्टराईले बताए । भएको कालोपत्रे भत्काएर समयमा सडक नबन्दा राम्रो सडकको सपना सपनामै सीमित होला जस्तो छ । उनले भने, ‘सडक आसपासका बजार धुलोले पुरिएका छन् ।’

बजेट नआउँदा समस्याः पूर्वाधार कार्यालय
कम्पनीको लापरवाहीले सडक समयमा निर्माण नभएको स्थानीयले आरोप लगाएपनि पूर्वाधार विकास कार्यालय झापाले सडकको काममा ढिला नभएको जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर रमेशकुमार श्रेष्ठले अधिकांश स्थानमा संरचनाको काम सकिएकाले बेस हालेर कालोपत्रे गर्न बाँकी रहेको बताए । अबको केहीमहिनामै कम्पनीले काम सक्ने बताए ।

इन्जिनियर श्रेष्ठले कम्पनीले ४५ प्रतिशत सकिएको तर भुक्तानी गर्न नसकेकाले समस्या भएको बताए । उनले भने, प्रदेश सरकारले बजेट नपठाउँदा भुक्तानी रोकिएको हो । श्रेष्ठले बजेट निकासा पहल गरिरहेको बताउँदै उनले भने, ‘निर्माण कम्पनीले सम्पन्न कामको भुक्तानी दिन नसक्दा कार्यालय लज्जित हुन परेको छ ।’
द कञ्चनजंगा–शेर्पा–कञ्चनजंघा जेभीका संचालक फुर्तेम्वा शेर्पाले निरन्तरको वर्षा र लकडाउनका कारण समयमा काम हुन नसकेको स्वीकारेका छन् ।

उनले चैतदेखिकोनिरन्तरको बन्दाबन्दीले बाहिरी काम नदेखिए पनि काम नरोकिएको बताए । उनले भने, ‘लकडाउनमै पनि काम भएको छ । तर, सम्पन्न कामको पूर्वाधार विकास कार्यालयमा बिल भुक्तानी नगर्दा समस्या भएको छ । जब बिल भुक्तानी हँुदैन, आफूले काम कसरी गर्ने?’पूर्वाधार कार्यालयले बिल भुक्तनी गरे दुई महिनामा सडक कालोपत्र गरिसक्ने शेर्पाले प्रतिबद्धता व्यक्त गरे ।

सडक बन्दैछ तर पुल जीर्ण
इलाम जोड्ने यो सडकखण्डमा अर्जुनधारा नगरपालिकाको वडा नं. १, ४ र ७ को सिमानाको बिरिङखोलाको पुल जीर्ण अवस्थामा छ । पुल जीर्ण हुँदा अर्जुनधारा नगरपालिकाको उत्तरी भेग,इलामको रोङगाउँपालिका र माई नगरपालिकाका स्थानीयबासी जोखिम मोलेर दैनिक यात्रा गर्न बाध्य छन् ।पुलको रेलिङ भाँचिएकाले अटोरिक्सा, ट्याक्टर र टिपर खोलामा खसेका छन् ।

सवारी दुर्घटनामा कयौं यात्रु घाइते भएका छन् । सवारी मात्र होइन पैदल यात्रीलाईसमेत यात्रा गर्न डरमर्दो भएको अर्जुनधारा नगरपालिका वडा नं. ४ की स्थानीय उर्मिला दनुवारको भनाइ छ ।खुदुनाबारी, माई नगरपालिका र रोङगाउँपालिकाका स्थानीय बिर्तामोड आउने जाने मुख्य सडकमारहेको बिरिङ पुलबाट दैनिक सयांै सवारीसाधन ओहोरदोहोर गर्ने गर्दछन् ।

बिर्तामोड–खुदुनाबारी खण्डका मिन बस चालक हरि महतराले पुल जीर्ण भएकाले जोखिम मोलेर यात्रा गर्नुपर्ने बताए । पुलको मुखमा भएको खाल्डोमा नगरपालिकाले बालुवा हालेपनि जोखिमपूर्ण रहेको चालक महतराले बताए । पुलको डिपीआर तयार गरीमर्मत गरिने नगरपालिका उपप्रमुख कमला आचार्य खतिवडाले बताइन् ।

तत्कालीन जिल्ला विकास समितिले २०६४ सालमा तीनकरोडको लागतमा कजवे निर्माण गर्नु पर्ने योजनालाई परिवर्तन गरीभेन्टी कजवे निर्माण गरेकाले समस्या देखिएको हो । तामाङसेवाको राजधानी जेभी निर्माण कम्पनीले कजवेको ठेक्का भए पनि स्थानीय राजनीतिकदल, समाजसेवीको आग्रहमा सोही लागतमा १६० मिटर लम्बाईको पुल(भेन्टी कजवे) निर्माण गरेको ठेकेदार शेरबहादुर थापाले बताए । पुलको मर्मत गर्दा अझै केही वर्ष सञ्चालन हुनसक्ने थापाले बताए ।

सडक बन्ने आशामा रहेका नागरिक सडक नबन्दा हिलो र धुवाको चपेटामा परिरहेका छन् । सरकारले ल्याएको ग्रामीण पहुँच कार्यक्रममार्फत सुरु शनिश्चरेखुदुनाबारी सडक बजेट अभाव भए केही वर्ष अझै धुलो र हिलोको पीडा खप्नु पर्ने हुन्छ । कतिपय स्थानका विकास योजनाहरु कार्यक्रमको समय सकिएपछि अधकल्चो भएर बसेका उदाहरणहरु प्रशस्त रहेका छन् । प्रदेश सरकारले समयमा बजेट निकास गर्न र तीव्र गतिमा निर्माणको काम हुनुपर्ने स्थानीयको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्