Logo

झापाको मेचीनगरमा एउटा हात्ती मृत भेटियो



झापा, १३ असार । झापाको मेचीनगरमा एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । मेचीनगर नगरपालिका ३ धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारमा अन्दाजी १० वर्षको भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । हात्ती मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थल पुगेर जिल्ला डिभिजन वन कार्यालय झापा र मेची सवडिभिजन कार्यालय धाईजनका टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ । स्थानीयबासीले मरेको हात्तीलाई अगरबत्ती र फूलमालाले पूजापाठ गरिरहेका छन् ।

हात्तीको पोस्टमार्टम जाँचका लागि कोशी टप्पु बन्यजन्तु आरक्षबाट विज्ञ टोलीलाई झिकाइएको बताइएको छ ।

मेचीनगर–१२ मा गत बैशाखको पहिलो साता अर्को हात्ती पनि मृत भेटिएको थियो । त्यसबेला फेला परेको हात्तीको दाह्रा अज्ञात समूहले काटेर लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्