Logo

ट्वान्टी–२० विश्वकप : इंग्ल्यान्डलाई ६८ रनले हराउँदै भारत १० वर्षपछि फाइनलमा



 

काठमाडौं, १४ असार । दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ ।

भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो । बिहीबार सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका स्पिनर हाबी बने । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट रह्यो । त्यसअघि कप्तान रोहित शर्माले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । इंग्ल्यान्डविरुद्ध भारत ४०–२ को अवस्थामा हुँदा रोहितले तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ७३ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।

वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि भारतले आठ ओभरमा ६५ रन बनाउँदा पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो । प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका थिए ।

भारतले अब उपाधिका लागि दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार ८ः१५ बजेदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्