Logo

सार्वजनिक सुनुवाई सम्पन्न



झापा, १४ असार । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडालाई समानुपातिक तवरले बजेट विनियोजन गरेको बताउनु भयो ।

वडा नम्बर १०को सभाहलमा विहिवार आयोजित आर्थिक वर्ष २०८०/०८१ को तेस्रो चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बिर्तामोडमा कुनै प्राकृतिक स्रोत नभएकाकारण आम्दानी थोरै हुने गरेको र उठेको बजेटलाई समानुपातिक ढंगले वितरण गरेको बताउनु भयो ।

नगर प्रमुख प्रसाईले संघिय सरकारले लगाएको ठेक्कामा विभिन्न प्रकारका समस्या आउने गरेको बताउनु भयो । उहाँले समयमा काम नहुने, ठेकेदार सम्पर्कमा नआउने लगायतका समस्या रहेको बताउनु भयो । पालिकाले लगाएका ठेक्कामा भने त्यस्तो समस्या नरहेको उहाँको भनाई छ ।

सहभागीहरुले राखेको जिज्ञासामा बोल्दै नगरप्रमुख प्रसाईले सुकुम्बासी समस्या समाधानका लागि पहल गरिरहेको बताउनु भयो । धनिपुर्जा दिनेअधिकार पालिकासंग नरहेको भन्दै उहाँले समस्या हल गर्नुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख प्रसाईले अधुरा योजना चाँडै सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गर्नु भएको छ ।

सार्वजनिक सुनुवाईमा सहभागिहरुले टोलविकास संस्थाका काम कर्तव्य र अधिकार, भौतिक पूर्वाधार, कृषि औजार खरिद तथा वितरण, सुकुम्बासी समस्या, खानेपानी, पर्यटन, अधुरा योजना, प्रशासनिक र प्राविधिक समस्या, महिला हिंसा, स्वास्थ्य वीमा लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
सहभागीहरुको जिज्ञासालाई नगर प्रमुख प्रसाई, वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले जवाफ दिनुभएको थियो । झापा युनेस्को संघ नेपालको तर्फबाट विजय तिम्सिनाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्