Logo

पोखरा महानगरमा अख्तियारको छापा



लेखनाथ, १८ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार पोखरा महानगरपालिका कार्यालयमा छापा मारेको छ । मणिपाल शिक्षण अस्पताललाई कानुनविपरीत राजस्व छुट दिइएको उजुरीपछि अख्तियार पोखरा कार्यालय छापा मारेको हो ।

आख्तियार पोखराका प्रवक्ता उपसचिव जगदीशचन्द्र सिवाकोटीले महानगरमा छापा मारेको पुष्टि गर्नुभयो । “हामीले मणिपालसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएका छौँ । यसबारे हामीकहाँ उजुरी पनि परेको थियो र मिडियामा पनि आएको कुरा हो ।”

महानगरले वडा नम्बर ११ मा रहेको मणिपाल शिक्षण अस्पताललाई करिब २० करोड कर छुट दिएर घरनक्सा सम्पन्न प्रमाणपत्र दिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनले यसमा प्रश्न उठाएपछि महानगर छुट दिने निर्णय बदर गरिसकेको छ ।

विस २०५३ मा बनेको मणिपाल शिक्षण अस्पताललाई महानगरको २०७९ चैत १० गते भएको बैठकले २० करोड कर छुट दिएर एक करोड ७५ लाख लिई मणिपाललाई भवन सम्पन्न प्रमाणपत्र दिने निर्णय लिएको थियो । महालेखाले मणिपालले २१ करोड ५७ लाख बुझाउनुपर्ने औंल्याएको छ ।

असार १० गतेको नगरसभाले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा कर यकीन गर्न समिति बनाएको छ । समितिमा डा होम गैरे, विमल भण्डारी र अधिवक्ता सुवदेव गौतम, इन्जिनियर सुरेन्द्र पाण्डे, रामजी पौडेल र शिवराम भण्डारी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्