Logo

कोशी, गण्डकी र कर्णालीमा राति मेघगर्जनसहित वर्षाको सम्भावना



काठमाडौं, २९ वैशाख । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार ती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ भने अन्य क्षेत्रका एक–दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा हुन सक्नेछ ।

यसअघि सोमबार दिउँसो बैतडी, डडेल्धुरा, बझाङ, डोटी, अछाम र कालिकोट आसपासका क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भएको थियो । उक्त वर्षा प्रणाली पूर्वतर्फ सरिरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दैलेख, सुर्खेत, जुम्ला, जाजरकोट, सल्यान, रुकुम, रोल्पा र डोल्पा आसपासका क्षेत्रमा पनि केही समय मेघगर्जनसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव सक्रिय रहेको मौसमविद्ले बताएका छन् ।

महाशाखाले मंगलबार र बुधबार पनि कोशी, मधेस र बागमती प्रदेशका केही स्थानसहित अन्य हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा जारी रहने सम्भावना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्