Logo

देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं, २८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मधेश प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । राति भने देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेश प्रदेश साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू–भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागको पछिल्लो सूचनामा अद्यावधिक हुन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्