Logo

निर्वाचन आयाेगले साेध्याे एकीकृत समाजवादी र शशांकलाई स्पष्टीकरण



काठमाडौँ, २८ चैत । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

गएको शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिए ।

यस्तै आयोगले नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालालाई पनि स्पष्टीकरण सोधेको छ । कोइरालालाई चुनाव खर्च विवरणबारे स्पष्टीकरण दिन भनेको हो । नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोइरालाले आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च भएको विवरण बुझाए पनि सार्वजनिक कार्यक्रममा चुनावमा ६ करोड रुपैयाँ खर्च गरेको अभिव्यक्ति दिएको भन्दै आयोगले सात दिनभित्र स्पष्ट पार्न निर्देशन दिएको हो ।

कोइरालाले केही दिनअघि एक कार्यक्रममा चुनाव खर्च महँगो हुँदै गएको र आफूले अघिल्लो चुनावमा ६ करोड रुपैयाँ खर्च गर्नुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्