Logo

दशरथ रंगशालामा हुने भनिएको सलमानको कन्सर्ट स्थगित



काठमाडौँ, १० जेष्ठ । आगामी शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट अन्तिम समयमा स्थगित गरिएको छ । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘द ब्याङ रिलोडेड टुर’ रोकिएको पुष्टि गरेका छन् ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षात्को समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको जानकारी उनले दिए । ‘चुनावको कारण टिकट सोचेअनुसार बिक्री हुन पाएन र पानी पर्ने सिजन पनि सुरु भयो,’ उनले भने ।

अनुकूल समयमा कार्यक्रम गर्नेगरी अर्को मिति चाँडै घोषणा हुने जानकारी पनि उनले दिए । कलाकारको पारिश्रमिक, लाइट, साउन्ड र स्टेज व्यवस्थापनमा झण्डै ८ करोड रुपैयाँ खर्च भइसकेको उनले बताए ।

सलमानले मात्र ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने तय भएको थियो । एक दर्जन कलाकारले सांगीतिक प्रस्तुति दिने बताइएको थियो । साथै, सलमानले नेपालको पर्यटकीय क्षेत्रको भ्रमण गर्ने तालिका पनि तय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्