काठमाडौं, २८ जेठ । ‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल २०२६’ को उपाधि मिष्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले जितेका छन्। विजेता दुवैले उपाधिसँगै २ लाख रुपैयाँ नगद, स्मार्टफोन तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।
प्रतियोगितामा प्रिन्स चौधरी र आकृति राई ‘फेस अफ एसइई सुपर मोडल २०२६’ घोषित भए। त्यसैगरी, जोयल महर्जन र युइशा बस्नेत फस्ट रनरअप, साओलिन श्रेष्ठ र कृतिश्मा लामा सेकेण्ड रनरअप, आरव श्रेष्ठ र सुम्निमा बजगाईं थर्ड रनरअप तथा अन्सन अधिकारी र युनिशा शाक्य फोर्थ रनरअप बने।
विवेक भुसाल र जेलिशा श्रेष्ठले ब्रान्ड एम्बासडरको उपाधि जित्दा साइस् रौनियार र जेत्सुन डोल्मा मोक्तान अर्गनाइजर च्वाइस घोषित भए। सदिक्षा तामाङले ‘ब्यूटी विथ ब्रेन’ तथा सुषान्त तामाङ र हिमानी लामिछानेले ‘भ्यालेन्टिनो ब्रान्ड एम्बासडर’को उपाधि हात पारे।
मनास्लु वर्ल्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा साधवी प्रसाईँले पब्लिक च्वाइस अवार्ड, आयुष्री कार्कीले भ्यूज च्वाइस अवार्ड, अविनाश तामाङले भ्यूज च्वाइस रनरअप तथा अरिका थापा र प्रिन्स पाण्डेले मोस्ट पपुलर रनरअपको उपाधि जिते।
आयोजकका अनुसार प्रतियोगिताका सहभागीहरूलाई नेपालका २० भन्दा बढी प्रतिष्ठित कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी तथा ए-लेभल अध्ययनका लागि छात्रवृत्तिको अवसर समेत प्रदान गरिएको छ।
कार्यक्रमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कृष्ण श्रेष्ठका अनुसार युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा फेसन र मनोरञ्जन क्षेत्रमा अवसर सिर्जना गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताको कोरियोग्राफी सुगन्धा अधिकारी र अर्शु महर्जनले गरेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए।
विजेतालाई के छ पुरस्कार ?
आयोजकका अनुसार विजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै दुवै विजेताले स्मार्ट फोन पाउने छन् । साथै विजेताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
प्रत्येक सहभागीले +२ मा विज्ञान, व्यवस्थापन, मानविकी र २० विभिन्न कलेजहरूमा एक तहको छात्रवृत्ति प्राप्त गर्नेछन् । विजेता दुवैका लागि एभरेस्ट फिल्म एकेडेमीमा रु १ लाख बराबरको छात्रवृत्ति रहेको छ ।
त्यस्तै आशिका एकेडेमीद्वारा व्यावसायिक मेकअप कोर्स, नेपाल एयरस्टेस एकेडेमीमा छात्रवृत्ति, फलफूल रत्नहरूद्वारा उपहार ह्याम्परहरू, ओप्स नेपालद्वारा उपहार ह्याम्परहरू, सीजीजी स्पोर्ट्स हबबाट बक्सिङ र मुए थाई फिटनेस प्याकेज, विज्ञापन, पत्रिका र समाचारपत्रहरूमा चित्रित हुने अवसर, संगीत भिडियो, छोटो चलचित्र उत्पादन शूट र अन्य धेरै अवसरहरू रहेको आयोजकले जनाएको छ ।
को हुन् विजेता सौरभका दाइ गौरव ?
गौरव नेपालका सबैभन्दा कान्छा कोरियोग्राफर हुन् । उनले गत साल मिस ग्राण्ड नेपाल २०२५ को अफिसियल कोरियोग्राफी सम्पन्न गरेका थिए । १७ वर्षको उमेरमा उनले सो कोरियोग्राफी गरेका हुन् ।
गौरव ‘नन्दिनी अर्ग्यानिक मिस्टर एण्ड मिस एसईई सुपर मोडल २०२४’ का उपाधि विजेता हुन् । उनी पुरुष र क्विन्सी श्रेष्ठ महिलातर्फको उपाधि जित्न सफल भएका थिए । एभरेष्ट इभेन्ट्सद्वारा आयोजित तेस्रो संस्करणको प्रतियोगितामा उनीहरूले ९३ प्रतिस्पर्धीलाई उछिन्दै उपाधि जितेका थिए ।
पुरुषमा अवय खड्गी र महिलामा जेसिका सिंह ठकुरी ‘फर्स्ट रनर अप’ भएका थिए ।
प्रत्येक सहभागीले विज्ञान, व्यवस्थापन, मानविकी तहमा दश जोड दुई अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेका थिए । दुवै विजेताका लागि एभरेष्ट फिल्म एकेडेमीमा एक लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्राप्त गरेको आयोजकले जनाएको छ ।








