Logo

‘लालीबजार’को सफल यात्रा जारी, प्रदर्शनको ५१औँ दिन पूरा



काठमाडौं, १३ असार । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ ले आज प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। काठमाडौं, भक्तपुर, बुटवल, इलाम र नेपालगञ्जसहित विभिन्न सिनेमा हलमा फिल्मले निरन्तर प्रदर्शन जारी राखेको हो।

फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईले दर्शकको अपार माया र साथप्रति आभार व्यक्त गर्दै ५१औँ दिनको अवसरमा विभिन्न सिनेमा हलमा पुगेर दर्शकसँग भेटघाट गरिने जानकारी दिएका छन्। उनका अनुसार षट्कोण आर्ट्सका अघिल्ला चलचित्रझैँ ‘लालीबजार’ले पनि दर्शकबाट उत्कृष्ट साथ पाएको छ।

निर्माण टिमले अब फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन पनि सुरु गरेको जनाएको छ। हाल युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको फिल्म छिट्टै जापान, अस्ट्रेलिया र अमेरिकालगायतका मुलुकमा पनि प्रदर्शन गरिने तयारी छ।

यस वर्ष प्रदर्शनमा आएका नेपाली चलचित्रमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ। घरेलु बक्स अफिसमा फिल्मले ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने १० करोड क्लबमा प्रवेश गर्ने तयारीमा रहेको छ।

यम थापाको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ।

फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गरेका छन्। फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्