Logo

रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर



रसिया, २ असार । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले रसिया-नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् ।

रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री अथक र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

भ्रमणको दोस्रो दिन मन्त्री अथकसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग शिष्टाचार भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुईदेशीय हितको विषयमा छलफल भएको थियो । छलफल पश्चात नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबिच मैत्रिपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरुको आदानप्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगाएत विषय समेटीएको “रसिया(नेपाल खेलकुद सहयोग कार्ययोजना)” मा दुबै देशका खेलकुद मन्त्रीले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले नेपाली खेलाडी तथा विद्यार्थीहरुलाई खेल विज्ञान पढ्न छात्रवृत्ति दिने, खेलाडी र प्रशिक्षकहरुलाई तालिम दिने तथा दुबै देशबिच मैत्रीपूर्ण खेल आयोजना गर्ने विषयमा रसिया उत्साहित भएको बताएका थिए ।

मन्त्री अथकले नेपाल र रसिया बिचको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुने विश्वास ब्यक्त गरेका छन् । उनले खेललाई कुटनीतिको प्रमुख अंग बनाउँदै आर्थिक, पर्यटन तथा अन्य विधासँग सामानजस्यता बढाउन आवश्यक रहेको उल्लेख गर्दै खेल पूर्वाधार र खेलका समग्र क्षेत्रमा रसियाले कायम गरेको आफ्नै विशिष्ट क्षमताको समेत प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्