Logo

मनकामना कलेजले गर्यो चौथो वर्षका विद्यार्थीलाई बिदाई



झापा, १३ माघ । बिर्तामोडस्थित मनकामना कलेजले शिक्षा र व्यवस्थापन संकाय स्नातक तह चौथो वर्षका विद्यार्थीको बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले शुक्रबार आफ्नै भवनमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई बिदाई गरेको हो ।

क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक कलेज प्रमुख राजेन्द्र प्रसाईं र युवराज दाहाल, शैक्षिक संयोजक कुमार थपलिया, सम्पुर्ण संकायका विभागीय प्रमुख र कलेजका प्राध्यापकहरुको उपस्थिती रहेको थियो ।

कलेज प्रमुख भट्टराईले मन्तव्यको क्रममा नेपालको शिक्षा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको स्मरण गराउदै विद्यार्थीको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

सहायक कलेज प्रमुख प्रसाईले पढाईसंगै अन्तरनिहित प्रतिभा प्रस्फुटनमा समेत जोड दिन आग्रह गर्दै शुभकामना व्यक्त गरेका थिए भने शैक्षिक संयोजक थपलियाले प्रमाणपत्रलाई बाकसमा बन्द गरेर खाडी मुलुकमा रोजगारीका लागि जानुपर्ने बाध्यात्मक अवस्था नेपाली विद्यार्थीले भोग्नु परेको र अब यसको विकल्प खोज्नु पर्ने बेला आएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

उक्त अवसरमा प्राध्यापक भेसराज चम्लगाई, पुजा मण्डल, उदय कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मानविकी संकाय तेस्रो वर्षका बिरु दर्नालले विद्यार्थी तर्फबाट प्रतिनिधिमूलक शुभकामना मन्तव्य राखेका थिए भने विद्यार्थीहरूले विभिन्न सांगीतिक नाँचगान र मनकामना क्याम्पस साहित्यिक परिवारका सदस्यहरुले साहित्यिक रचनावाचन समेत प्रस्तुत गरेका थिए ।

बिदाई भएर जाने शिक्षा संकायकी रक्षा शिलवाल र व्यवस्थापन संकायका जीवन उप्रेतीले कलेजको बसाई जीवनकै अविस्मरणीय रहेको भन्दै प्राध्यापकहरुको प्रशंसा गरि प्राप्त ज्ञान र शिल्प जीवन पर्यन्त शिरोधार्य गर्दै अघि बढ्ने बताए ।

व्यवस्थापन संकाय तेस्रो वर्षमा अध्ययनरत रचना बस्नेतले शाब्दिक मन्तव्यबाट स्वागत गरेको बिदाई कार्यक्रमको सञ्चालन व्यवस्थापन संकाय तेस्रो वर्षकी विद्यार्थी प्रियङ्का उप्रेतीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्