सोलर बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाइयो
काठमाडौँ, १ चैत । काठमाडौँ महानगरपालिकाले दरबारमार्गको पार्किङ हटाएको करिब एक महिनापछि सोलार बत्तीमाथि राखिएको विज्ञापन बोर्ड हटाएको छ । कामपाले ७ वर्षअघिको सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न भन्दै सो होर्डिङ बोर्ड हटाएको जनाएको छ ।
कामपा राजस्व विभागले शहरलाई कुरूप हुन नदिन होर्डिङ बोर्ड हटाएको जनाएको छ । करिब एक महिनाअघि दरबारमार्गको सडकमा राखेको पार्किङ हटाएपछि आन्दोलित भएका त्यहाँका व्यापारी मंगलबार विज्ञापन हटाएपछि थप आक्रोशित भएका छन् ।
सोलारबत्तीको पोलको प्रचार समग्री हटाउन खोज्दा विवाद भएको थियो । तर, कामपा प्रहरीले आदेश पालना गर्नुपर्ने जनाउँदै सबै पोलबाट प्रचार सामग्री हटाएको थियो । सर्वोच्चले २०७२ भदौ १६ गते सबै शहरको सौन्दर्य कायम गर्न पोल, पर्खाललगायत सबै क्षेत्रबाट सबै प्रकारका पोस्टर, पम्प्लेट, बोर्ड, पचलगायतका वातावरणमा प्रत्यक्ष असर गर्ने सामाग्री नराख्न आदेश दिएको थियो ।
कामपा नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले सर्वोच्चको आदेशअनुसार सोलार बत्तीको पोलमाथि राखिएको बोर्ड हटाइएको जानकारी दिए । उनले भने, शहरलाई कुरूप हुन नदिन र वातावरण स्वच्छता कायम गर्न बोर्ड हटाएका हौं।
कामपा सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख महेश काफ्लेले दरबारमार्ग विकास बोर्डले एक वर्षदेखि नवीकरण नगरी बिजुलीको पोलमा प्रचार सामग्री राखेको बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।