Logo

दक्षिण एसियाली राष्ट्रमा पनि अन्तरव्यवस्थापिका सङ्घ बनाउन खोजेका छौँ: तिमिल्सिना



रुस, ११ वैशाख । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्वतन्त्र कमनवेल्थ राष्ट्रहरूकोे अन्तरव्यवस्थापिका सभाका महासचिव दिमित्री कोवित्स्कीबीच भेटवार्ता भएको छ ।

भेटमा अध्यक्ष तिमिल्सिनाले कमनवेल्थ राष्ट्रमा जस्तै दक्षिण एसियाली मुलुकका व्यवस्थापिका संसद्हरूको अन्तरव्यवस्थापिका सङ्घ बनाउने प्रयास भइरहेको बताए ।

उनले यस्तो सङ्घ बनाउन दक्षिण एसियाली राष्ट्रहरूको सहयोग सङ्गठन (सार्क) क्रियाशील बन्न नसक्दा कठिनाइ भइरहेको उल्लेख गरेको उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सिनाले नेपालको सङ्घीय संसद् दक्षिण पूर्वी एसियाली मुलुकहरूको अन्तरव्यवस्थापिका सङ्घ (आइकाओ)को पर्यवेक्षक सदस्य बनेको चर्चा गर्दै कमनवेल्थ राष्ट्रको अन्तरव्यवस्थापिका सभामा पनि पर्यवेक्षक सदस्य बनेर काम गर्न इच्छुक रहेको बताएका हुन् ।

उनले यस्ता अन्तर व्यवस्थापिका सङ्घमा आबद्ध हुँदा ती देशका व्यवस्थापिका सञ्चालनसम्बन्धी अनुभव आदानप्रदान हुने तथा त्यसले सङ्घमा आबद्ध देशहरूका बीचमा आपसी सहकार्यलाई समेत बढाउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्