Logo

विपद् जोखिमको सूचना प्रत्येक व्यक्तिसम्म पुग्ने संयन्त्र प्रभावकारी बनाऔँ: गृहमन्त्री



काठमाडौँ, ११ वैशाख । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रको विकास गर्नपर्ने बताएका छन् ।

आज आयोजित ‘विपद् जोखिम व्यवस्थापन: नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक कार्यशालामा उनले विपद् जोखिम न्यूनीकरणका साथै रोकथामका लागि आधुनिक सूचना प्रविधिको प्रयोग अधिकतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “विपद् व्यवस्थापन सूचना प्रणालीलाई थप सुदृढ गर्दै बहुप्रकोपीय पूर्वसूचना प्रणालीको विकास गरी जोखिमको सूचना प्रत्येक समुदाय र व्यक्तिसम्म पुग्ने संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक छ ।” गृहमन्त्री श्रेष्ठले विपद् जोखिम व्यवस्थापनमा अन्तर तह र अन्तर निकाय समन्वयलाई थप प्रभावकारी बनाउन निर्देशन दिए ।

उनले पुन: निर्माण र पुन: स्थापनामा प्राधिकरणसँगै सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले जिम्मेवार भई समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले आगलागीका घटनामा अग्नि नियन्त्रण र वारुणयन्त्र व्यवस्थापनको कार्यमा स्थानीय तहलाई थप सहयोग गर्ने संयन्त्र निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय तहलाई विपद् व्यवस्थापन कोषलाई राहतमा मात्र केन्द्रित नगरी दीर्घकालीन व्यवस्थापनमा जोड दिन सुझावसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्