Logo

मर्ज हुन लागेको विद्यालय, आज नमूना



बिर्तामोड, ७ जेठ । बिर्तामोड नगरपालिका वडा नं.९ मा रहेको श्री शहिदलक्ष्मी मोडल सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान भइरहँदा पनि अभिभावक बालबालिकालाई निजी विद्यालयमा अध्ययन गराइरहेका छन् ।

विद्यालयमा अङ्ग्रेजी माध्यममा प्रविधिको प्रयोग गरेर अध्यापन कार्य भइरहेको प्रधानाध्यापक गुरुप्रसाद घिमिरेले बताए । उनले अभिभावक नजिकैको सामुदायिक विद्यालय छाडेर निजी विद्यालयमा आफ्ना बालबालिका भर्ना गर्ने गरेको बताए । प्रोजेक्टरलगायतको प्रविधि प्रयोग गरेर दक्ष शिक्षकले अध्यापन गराउँछन्, उनले भने, तर विद्यार्थीको संख्या न्यून छ ।

प्रधानाध्यापक घिमिरेले विद्यार्थीको भर्ना संख्या राम्रै भए पनि टाढाका विद्यार्थी आउन नसकेको बताए । उनले भने, स्कुल बसको व्यवस्था गर्न नसक्दा टाढाका विद्यार्थी भर्ना हुन नसकेका हुन् ।

यस विद्यालयमा कक्षा ५ सम्म मात्र पढाई हुने गरेको छ । माथिल्लो कक्षा अध्ययनका लागि अन्य विद्यालय जाने दाजु दिदीसँगै नजिकैका विद्यार्थी पनि जाने गरेको बताए । विद्यार्थीको संख्या न्यून हुँदा केही वर्ष अघि अन्य विद्यालयमा मर्ज गर्ने तयारी भएको थियो । तर, बिर्तामोड नगरपालिकाले नमूना विद्यालय बनाउने कार्यक्रम ल्याए पछि विद्यालयमा परिवर्तन भएको हो ।

विद्यालयमा यातायातको व्यवस्थापन गर्न सके विद्यार्थीको संख्यामा वृद्धि हुने शिक्षक र अभिभावकको बुझाई छ । प्रधानाध्यापक घिमिरेले सामुदायिक विद्यालयमा भन्दा निजी विद्यालयमा पढाइ राम्रो हुन्छ भन्ने मानसिकताले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो अवस्थामा रहेको छ । उनले भने, अर्को कारण भनेको यातायातको व्यवस्था नभएकाले विद्यार्थीलाई विद्यालयसम्म आइपुग्न समस्या भएकाले निजी विद्यालयमा जान बाध्य छन् ।

विद्यालयमा ८० प्रतिशत विद्यार्थी नियमित छन् । अभिभावक आफ्ना छोराछोरीको पढाई बुझ्न आउने गरेका छन् । प्रविधिमा आधारित शहिद लक्ष्मी मोडल सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिका, शिक्षक र अभिभावक सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्