Logo

झापामा सहिदका स्मृतिमा सडकको नामकरण



झापा, १६ असार । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ ।

मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए । यो सडक १९ किलोमिटर लामो छ । यसअघि यो सडकलाई मेची करिडरको रुपमा परिचित थियो ।

यसैगरी, पूर्वपश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘सहिद वीरेन राजवंशी मार्ग’ नामकरण गरिएको उनले जानकारी दिए ।

मेचीनगर नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामकरण गरिएको हो । विसं २०२९ फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने निहुँमा झापा र इलामको सीमानास्थित सुखानी जंगलमा पञ्चायती शासकले गोली हानी कम्युनिष्ट राजबन्दी वीरेन राजवंशीको हत्या गरेका थिए । झापा विद्रोहको क्रममा भएको सो घटनामा राजवंशीसँगै पाँच जना विद्रोही नेताको हत्या भएको थियो । जसलाई सरकारले सहिदको रुपमा सम्मान दिइसकेको छ । सहिद वीरेन राजवंशीको घर सोही सडकको ज्यामिरगढी खण्डमा रहेको छ ।

त्यसैगरी, सहिद विश्वनाथ घिमिरेलाई ‘झापाका प्रथम सहिद’को रुपमा सम्मान दिइँदै आएको छ । नेपाली कांग्रेसको नेताको रुपमा तत्कालीन बाहुनडाँगीको जनपक्षीय प्रधानपञ्च निर्वाचित घिमिरेलाई पञ्चायती शासकले विसंं २०१९ जेठ ३१ गते निन्दा खोलाको किनारमा बाटो छेकी गोली हानी हत्या गरेका थिए ।

सहिद राजवंशीको ज्यामिरगढीमा र सहिद घिमिरेको बाहुनडाँगीमा प्रतिष्ठान तथा शालिक निर्माण भएको छ । आफ्ना हजुरबुबाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिएको शहादतको मूल्याङ्कन गर्दै नगरपालिकाले सडकको नामकरण गरेकोमा सहिद विश्वनाथ घिमिरेका नाति पङ्कज घिमिरेले धन्यवाद व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्