Logo

पाँचथर बोलेरो दुर्घटना अपडेट: मृतकको सङ्ख्या तीन पुग्यो



पाँचथर, ११ साउन । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते भई बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङकी २६ वर्षीया इसेटिमा शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी मिलन थापाका अनुसार गम्भीर घाइते शेर्पाको सो अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी शेर्पालाई जिल्ला अस्पताल पाँचथरमा प्रारम्भिक उपचारपछि बिर्तामोड लगिएको थियो । दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङको मैवाखोला गाउँपालिका-१ ढुङ्गेसाँघुका ४५ वर्षीय जीतेन्द्रमणि विक्रम वनेमको मंगलबार जिल्ला अस्पताल पाँचथरमा र पाँचथरको फिदिम नगरपालिका-१० की ४० वर्षीया सविना विकको झापा लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो ।

झापाबाट पाँचथरको फिदिम आउँदै गरेको मे १ ज १९४१ नं को बोलेरो जीप मङ्गलबार दिउँसो १२:१५ बजे फिदिम नगरपालिका-२ कृष्ण मन्दिर छेउमा दुर्घटना भएको थियो । चालकले घुम्ती मोड्न नसक्दा सडकबाट करिब दुई सय मिटर तल झरी बोलेरो दुर्घटना भएको थियो ।

दुर्घटनामा बोलेरोमा सवार चालकसहित १३ यात्रु घाइते भएका थिए, तीमध्ये तीन जनाको मृत्यु भएको हो । बाँकी चार जनाको झापाका विभिन्न अस्पतालमा र अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्