Logo

शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न हुँदैन: शर्मा



काठमाडौँ, १९ असोज । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई औपचारिकतामा मात्रै पास गर्न नहुने बताएका छन् ।

शुक्रवार प्रतिनिधिसभाको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथिको छलफलका क्रममा सांसद शर्माले विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरू पनि रहेको भन्दै लामो समय दिएर यसमा छलफल हुन आवश्यक रहेको बताएका हुन् ।

उनले देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले विद्यालय शिक्षा विधेयकमा आवश्यक संशोधन गर्नुपर्ने बताए ।

सांसद शर्माले कक्षा १२ सम्मको विद्यालय शिक्षालाई कसरी एकरूपतामा लैजाने? कसरी एउटै शिक्षा सबै विद्यार्थीले पाउने? कसरी अहिलेको पाठ्यक्रम, शिक्षण विधिका कुरा र शिक्षकका सेवा सुविधाका प्रश्नमा सम्बोधन गर्ने र सबैले स्वीकार गर्ने कसरी बनाउने भन्ने कुरा महत्त्वपूर्ण रहेको उल्लेख गरेका थिए ।

उनले भने, ‘विद्यालय शिक्षा विधेयकमा संविधानसम्मत नभएका कुराहरू पनि छन् । यसमा सार्वभौम संसद्ले अत्यन्त गम्भीरताका साथ छलफल गर्नुपर्छ । यो देशको भविष्य निर्माणसँग सम्बन्धित भएकाले संशोधन गर्नुपर्ने छ । यो विधेयकलाई दफावार छलफलमा पनि व्यवस्थित ढङ्गले लामो समय दिएर छलफल गर्नुपर्ने आवश्यकता छ । यसलाई औपचारिकतामा पास गर्ने भन्दा पनि व्यापक छलफलको आवश्यकता छ ।’

प्रतिक्रिया दिनुहोस्