काठमाडौं, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार गठनमा हुने सत्ता समीकरणको गणितीय खेलमा सहभागी नहुने निर्णय गरेको छ ।
आज बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले तत्काल प्रदेश सरकार निर्माणको सत्ता केन्द्रित गतिविधिमा सहभागी नहुने निर्णय गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार हाल प्रदेश सरकारहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर निर्माण गर्नुपर्ने राप्रपाको धारणा रहेको छ ।
प्रदेश सरकारका सम्बन्धमा भविष्यमा कुनै निर्णय लिनुपर्ने अवस्था आए पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा आवश्यक निर्णय लिन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिइएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारका विषयमा पार्टीले आवश्यकताअनुसार उपयुक्त समयमा निर्देशन दिने श्रेष्ठले बताउनुभयो ।
बैठकले पार्टीको निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका राप्रपा संसदीय दल र प्रदेशसभा सदस्यलाई निर्देशनसमेत दिएको छ ।
राप्रपाको पछिल्लो निर्णयसँगै प्रदेश सरकार गठन तथा पुनर्गठनका क्रममा पार्टीको भूमिका तत्काल निर्णायक समीकरणतर्फ नजाने स्पष्ट भएको छ ।






