Logo

लाेकेशले शतक बनाए पनि नेपाल ‘ए’ आयरल्यान्डसँग पराजित



काठमाडौँ, १६ चैत । आयरल्यान्ड ‘ए’ सँगको मैत्रीपूर्ण टी-२० क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल ‘ए’ को टोली पराजित भएको छ ।

आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल २१ रनले पराजित भएको हो ।

आयरल्यान्ड ‘ए’ ले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १९ ओभर ३ बलमा २ सय १ रनमा अल आउट भयो । नेपालका लोकेश बमले शतक बनाए । लोकेश ५६ बलमा १ सय ६ रन बनाएर आउट भएका थिए ।

यस्तै आरिफ शेखले ४९ रन बनाए । टोलीले ६८ रनमा ३ विकेट गुमाएको अवस्थामा लोकेश र आरिफले ४४ बलमा १ सय २१ रनको साझेदारी गरे । आयरल्यान्ड ‘ए’ का फियोन ह्यान्ड र म्याथ्यु हमफ्रेसले समान ३ विकेट लिएका थिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ का पिटर मूरले ४९, केड कारमाइकल र कप्तान निल रकले समान ३८, स्टेफेन डोहेनेले ३४, ग्यारेथ डिलेनेले नट आउट ३० रन बनाए । बलिङतर्फ नेपाल ‘ए’ का कमलसिंह ऐरीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्