Logo

आसामका साहित्यकार विनोद खनाललाई तेराख पुरस्कार



मेचीन्गर, १५ वैशाख । तेराख प्रतिष्ठानले भारत आसामका प्रसिद्ध नेपाली भाषी साहित्यकार विनोद खनाललाई तेराख महाकवि साहित्यिक पुरस्कारबाट सम्मान गरेको छ ।

प्रतिष्ठानको वार्षिकोत्सवको अवसर पारेर आज झापाको धुलाबारी माविमा आयोजित कार्यक्रममा साहित्यकार खनाललाई नगद ४५ हजार र सम्मान पत्रले सम्मान गरिएको हो । सोही अवसरमा साहित्यकार खनाल सहित कृषक र विद्यार्थीलाई समेत सम्मान गरिएको छ ।

तेराख महाकवि साहित्यिक पुरस्कारबाट दुई जना साहित्यकारलाई पनि सम्मानित गरिएको छ । सोही पुरस्कारबाट इलामका साहित्यकार तथा लेखक प्राज्ञ रविमान लम्जेललाई सम्मानित गरिएको छ ।

उत्कृष्ट कृषकका रुपमा मेचीनगर ६ का कृषक खड्ग बहादुर अधिकारीलाई नगद २१ हजार र सम्मान पत्रद्वारा मधुसुधन उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित गरिएको छ । त्यस्तै पद्मादेवि छात्रा पुरस्कारबाट नगद १५ हजार र सम्मान पत्रले धुलाबारी माविबाट उत्कृष्ट अंक ल्याएर कक्षा १२ उतिर्ण पवित्रा न्यौपानेलाई सम्मानित गरिएको छ ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा कवि केशव आचार्य, बिषेश अतिथि प्राज्ञ सुभद्रा अर्याल, प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेल, संरक्षक लेखनाथ खतिवडाले सम्मान पत्र, दोसल्ला र नगदले सम्मानित गर्नु भएको थियो । कार्यक्रममा सम्मानितहरुको सम्मान पत्र प्रतिष्ठानकी सदस्य शुशिला खतिवडा र लिना भण्डारीले वाचन गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि आचार्य, बिशिष्ट अतिथि अर्याल, पत्रकार महासंघका पुर्व महासचिव चन्द्र भण्डारी, सम्मानितका तर्फबाट विनोद खनाल र रविमान लम्जेलले प्रतिष्ठानले गरेका कार्यले नेपाली भाषा, संस्कृति र साहित्यलाई सकारात्मक योगदानसंग साहित्यका तेराखलाई जीवन्त बनाउन सहयोग पुगेको बताएका थिए ।

प्रतिष्ठानका संरक्षक लेखनाथ खतिवडाले संस्थाका बारेमा जानकारी गराउनु भएको कार्यक्रम सचिव जयप्रसाद भण्डारी र सदस्य मुना रानाको संञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्