Logo

जन्मदिनमा आमा गुमाएका बालबालिकाको घर निर्माणामा आर्थिक सहयोग



झापा, १० जेठ । झापाको बिर्तामोड निवासी समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आमा गुमाएका मेचीनगर–१२का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधिन घरकालागि आर्थिक सहयोग गर्नुभएको छ ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष तथा बिभिन्न संघ संस्थामा आबद्ध युवा व्यवसायी भट्टराईले बिहिबार पर्न गएको जन्मदिनमा आमा गुमाएका बालबालिकाको बन्दै गरेको घरकालागि नगद ११ हजार रुपैंया सहयोग गर्नुभएको हो ।

झण्डै एक महिना अघि ती बालबालिकाकी आमा पदमा भुजेलको ४८ वर्षको अल्पायुमै निधन भएको थियो । दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पदमाको निधनपछि दुई छोरा रोहन भुजेल, तारा भुजेल र एक छोरी करुणा भुजेलको बिचल्ली भएको हो । उनीहरु स्थानीय बलभद्र माविमा अध्ययनरत छन् ।

पत्रकार खगेन्द्र घिमिरेको पहलमा भुजेलको काजकिरिया खर्च जुटेको थियो, भने हाल उनै घिमिरेको संयोजनमा बास बस्नलायक पक्की घर निर्माणको कार्य धमाधम भइरहेको छ ।

मेचीनगर–१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरु बस्दै आएका थिए । बगरको दश धुर ऐलानी जग्गामा बनेको उक्त झुपडीमा हाल पक्की घर बन्दै छ ।

त्यस्तै भट्टराईले आजै झापाको बिर्तामोड ७ स्थित बाह्रघरेका एक विपन्न परिवारलाई खाद्यन्न सहयोग गर्नुभएको छ । उहाले अशक्त बुद्धराज चौधरी र सुत्केरी देबकी चौधरीलाई उनीहरुको घरमै पुगेर सहयोग गर्नुभएको हो । भट्टराईले गरेको सहयोगको सुन्दर निचाझोडा सामुदायिक वनका अध्यक्ष तथा स्थानीय बद्री प्याकुरेल, बालबालिका तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेलले प्रशंसा गर्दै धन्यवाद प्रकट गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्