Logo

भद्रपुरका किसानलाई कृषि सामग्री वितरण



झापा, १२ जेठ । भद्रपुर नगरपालिकाले ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रमअन्तर्गत किसानलाई कृषि सामग्री वितरण गरेको छ । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले आज आयोजित एक कार्यक्रममा ती सामग्री वितरण गर्नुभएको हो ।

मौसमी खेतीमा मात्र निर्भर रहेका कृषकलाई बेमौसमीखेतीतर्फ आकर्षित गरी बढी मुनाफा आर्जन गर्ने उद्देश्यले सिँचाइ पाइप, टप सिँचाइ मोटर, उन्नत बीउ, प्राङ्गारिक मल, स्प्रे ट्याङ्कलगायत सामग्री वितरण गरिएको कृषि विकास अधिकृत सुमन बिमलीले बताउनुभयो ।

मेचीपारि उत्पादित तरकारी वस्तुउपज नेपाली बजारसम्म ल्याउन पुलको समस्या हुँदा तरकारीउपज बारीमै कुहिने गरेको यहाँका किसानको गुनासो छ । स्थानीय किसान अनय राजवंशीले यहाँको उत्पादनले बजार पायो भने जिल्लाभरिलाई पुग्ने आलुलगायत अन्य तरकारी उत्पादन गर्न सकिने दाबी गर्नुभयो ।

नगरप्रमुख पोखरेलले भद्रपुरमा सङ्कलन केन्द्र स्थापना गर्दै किसानले उत्पादन गरेको कृषिउपज ढुवानीको व्यवस्था नगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कृषकले उत्पादन गरेको कृषी उपज बिक्री नभए नगरपालिकाले समर्थन मूल्य बराबर रकम उपलब्ध गराउने जानकारी दिनुभयो । कृषकलाई ढुक्क भएर तरकारी खेती गर्न नगरप्रमुख पोखरेलले आग्रह गनुभयो ।

नगरपालिका कृषि विकास शाखाका अनुसार ‘मेचीपारि तरकारी बारी’ पकेट कार्यक्रम गत आर्थिक वर्षदेखि सञ्चालन हुँदै आएको हो । भद्रपुरको मेचीपारि अधिकांश राजवंशी समुदायको बसोबास रहेको नगर कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्