काठमाडौं, १७ साउन । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज दिनभर तथा राति अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानको आसपास तथा पूर्वी क्षेत्रमा सरदरभन्दा केही उत्तरतर्फ रहेकाले देशभर मौसममा यसको प्रभाव देखिएको हो।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने अन्य प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानसहित देशका विभिन्न क्षेत्रमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। तराईका केही भूभागमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा वर्षाको गतिविधि अझ तीव्र हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, मधेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने, बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम रहने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। यस्ता मौसमीय गतिविधिले कृषि, पर्यटन, सडक तथा हवाई यातायात र दैनिक जनजीवनमा समेत प्रभाव पार्न सक्ने भएकाले विभागको नियमित अद्यावधिक सूचना पछ्याउन अनुरोध गरिएको छ।






