काठमाडौं, ४ साउन । फिफाले विश्वकपको १०० वर्ष पूरा भएको अवसरमा आयोजना हुने सन् २०३० को विश्वकपलाई ऐतिहासिक बनाउने भएको छ। प्रतियोगिता पहिलोपटक तीन महादेशका ६ देशमा आयोजना हुनेछ।
विश्वकपका अधिकांश खेल स्पेन, पोर्चुगल र मोरक्कोमा हुनेछन्। तर शताब्दी संस्करणको विशेष अवसरमा उरुग्वे, अर्जेन्टिना र पाराग्वेले प्रारम्भिक चरणका एक–एक ‘सेन्टेनरी’ खेल आयोजना गर्नेछन्। सन् १९३० मा पहिलो विश्वकप आयोजना भएको सम्झनामा उरुग्वेलाई विशेष सम्मान दिइएको हो भने पहिलो विश्वकपको उपविजेता अर्जेन्टिना र कोन्मेबोल मुख्यालय रहेको पाराग्वेलाई पनि एक–एक खेल आयोजना गर्ने जिम्मेवारी दिइएको छ।
फिफाको प्रस्तावित कार्यतालिकाअनुसार शताब्दी विशेष खेलहरू जुन ८ र ९ मा दक्षिण अमेरिकामा हुनेछन्। त्यसपछि जुन १३ र १४ देखि स्पेन, पोर्चुगल र मोरक्कोमा मुख्य प्रतियोगिता सुरु हुने अपेक्षा गरिएको छ। फाइनल जुलाई २१ मा हुने अनुमान गरिएको भए पनि फिफाले अझै आधिकारिक खेल तालिका सार्वजनिक गरेको छैन।
आयोजक राष्ट्रका रूपमा स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले स्वतः विश्वकपमा स्थान सुरक्षित गरिसकेका छन्। बाँकी ४२ टोली विभिन्न महादेशीय छनोट प्रतियोगितामार्फत छनोट हुनेछन्।
हाल विश्वकपमा ४८ टोली सहभागी हुने व्यवस्था कायम छ, जुन पहिलोपटक २०२६ संस्करणमा लागू गरिएको थियो। यद्यपि, फिफाले भविष्यमा प्रतियोगितालाई ६४ टोलीसम्म विस्तार गर्ने सम्भावनाबारे अध्ययन र छलफल गरिरहेको जनाएको छ।
सन् २०३० को विश्वकपपछि हुने अर्को संस्करण सन् २०३४ मा साउदी अरेबियामा आयोजना हुनेछ। फिफाले यसअघि नै साउदी अरेबियालाई उक्त विश्वकपको आधिकारिक आयोजक घोषणा गरिसकेको छ।






