काठमाडौं, ४ साउन । विश्व फुटबलमा उदाउँदो सुपरस्टारका रूपमा स्थापित भएका लामिन यामालले १९ वर्षको उमेरमै फिफा विश्वकपको उपाधि जित्दै इतिहास रचेका छन्। तर उनको यो सफलतापछाडि गरिबी, संघर्ष र परिवारको अथक त्यागको लामो कथा लुकेको छ।
यामालकी हजुरआमा फातिमा मोरक्कोमा कठिन जीवन बिताइरहेकी थिइन्। आफ्ना सन्तानले पनि त्यही अभाव र दुःख भोग्न नपरोस् भन्ने उद्देश्यले उनले सबै जोखिम मोलेर स्पेन जाने निर्णय गरिन्। उनी बसमार्फत लुकेर स्पेनको क्याटालोनिया पुगेकी थिइन्।
स्पेन पुगेपछि उनको जीवन सहज थिएन। कुनै आधार नभएकाले उनले बिहान, दिउँसो र राति गरी तीन सिफ्टमा काम गरिन्। धेरै मेहनतपछि केही रकम बचाएर उनले आफ्नो तीन वर्षीय छोरालाई पनि स्पेन ल्याउन सफल भइन्। यही छोरा पछि लामिन यामालका पिता बने।
लामिनका बुबाआमाले पनि चरम आर्थिक अभावको सामना गरे। कम उमेरमै विवाह गरेका उनीहरूलाई छोराको पालनपोषण गर्न कठिन थियो। उनीहरू समुदायबाट उपलब्ध गराइने निःशुल्क खाना खाएर जीवन चलाउँथे र बस्नका लागि आफ्ना साथीहरूको कोठा प्रयोग गर्थे। त्यही कठिन समयमा साथ दिएका दुई साथीप्रति सम्मान व्यक्त गर्दै उनीहरूले आफ्नो छोराको नाम ‘लामिन यामाल’ राखेका थिए।
लामिन तीन वर्षका हुँदा उनका बुबाआमा छुट्टिए। त्यसपछि उनकी आमा, जो फास्टफुड रेस्टुरेन्टमा काम गर्थिन्, र हजुरआमा फातिमाले उनलाई हुर्काए। हजुरआमाले सानैदेखि उनलाई पढाइसँगै फुटबलमा अघि बढ्न निरन्तर प्रेरणा दिइन्।
अभाव र संघर्षबीच हुर्किएका यामालले त्यसैलाई आफ्नो प्रेरणा बनाए। आज उनी विश्व फुटबलका चम्किला खेलाडीमध्ये एक बनेका छन्। उनको जीवनले गरिबी सफलता प्राप्त गर्ने यात्रामा बाधा मात्र होइन, दृढ संकल्प र मेहनत भए प्रेरणाको स्रोत पनि बन्न सक्छ भन्ने सन्देश दिएको छ।






